झापा । बल्लतल्ल बनेको एउटा सडक पनि बाढीले बगाएपछि होकलबारी बस्ती एक्लिएको छ । सतासीधाम–चौरी बस्ती सडक बाढीले बगाउँदा गौरीगञ्ज–१ होकलबारी बस्तीको अर्को बस्तीसँग सम्पर्क विच्छेद भएको हो ।
टापुजस्तै वरिपरि नदीले घेरिएर बसेका स्थानीयलाई सडक नहुँदा निकै समस्या भएको छ। घरमा भएको सबै बाढीले कामै नलाग्ने भएको र सडक बगाएपछि बजार जान समेत समस्या भएको स्थानीयको भनाइ छ । बजारबाट बाँकी ल्याएर खान समेत बाढीले सबै बाटो भत्काएपछि नपाएकाके उनीहरुको गुनासो छ ।
हुलकलबारीसम्म पुग्ने झन्डै पाँच सय मिटर सडक बाढीले बगाएको छ। दक्षिणी सीमावर्ती क्षेत्र राज्यको नजरभन्दा बाहिर रहेको र विकासका काम पनि कमै हुने क्षेत्र हो । बल्ल बल्ल बनेको एउटा सडक पनि बाढीले बगाएपछि यस क्षेत्रका मानिस झन समस्यामा परेका छन् । नदीमा तटबन्ध नबन्दा वर्षेनी यस क्षेत्रका मानिस बाढीको जोखिममा पर्ने गर्छन् । तटबन्ध नबनेकै कारण बल्ल बल्ल बनेको सडक पनि बाढीले बगाएको स्थानीयको गुनासो छ ।
स्थानीय एक युवक भन्छन्, समयमै नदीमा तठबन्धन गरिदिए त खोला आफ्नो ठाउँमा हिँड्ने थियो नि हामीलाई दुःख त दिने थिएन । पहिला त सानो खोल्सो थियो। अहिले त नदी नै बग्दैछ। हामी गाउँले मिलेर बाँसको पुल बनाएका थियौँ। त्यो पनि बगाएर लग्यो। अहिले त जोखिम मोलेर कम्मरकम्मर खोला तर्दैछौँ।’
साना सडक मात्र हैन बहुप्रतीक्षित हुलाकी राजमार्गमा समेत क्षति पुगेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए। हुलाकी सडकअन्तर्गत गौरीगञ्ज–१ मा बाढीले कल्भर्टमा क्षति पुर्याएको उनले बताए।