काठमाण्डौं। जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो।
नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणले जनाएको छ।
पहिलो पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहीबार बिहान १२ बजे विमान अवतरण गरेको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको उक्त विमानस्थलले बताएको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ।