काठमाडौं। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलबाटा कार्गो ढुवानी सेवा पनि सञ्चालनका लागि व्यवसायीहरुले पहल थालेका हुन्।
अहिले विमानस्थलबाट कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ । यो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टपलाइन वर्ल्ड वाइड कार्गो र सेक्युर फ्रेट इन्टरनेसनल लगायत कार्गो कम्पनीको एक टोलीले गत साता भैरहवा विमानस्थल र स्थानीय व्यवसायीसँग यसबारे छलफल गरेको छ ।
छलफलमा भैरहवाबाट काठमाडौं, कुवेत, साउदी अरेबिया हुँदै युरोप, अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादित सामान हवाई कार्गो मार्फत पठाउन सकिने व्यवसायीहरुले बताएका थिए ।
यस क्षेत्रको स्वदेशी उत्पादन तथा विदेशबाट आउने सामानहरु भैरहवा मै उपलब्क्ध हुने कुराले स्थानीय उद्योगी व्यवसायीहरु पनि खुसी भएको टपलाइन वर्ल्ड वाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले बताए ।