काठमाडौं । सोमबार बिहान ५ बजे महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा एक व्यक्तिको फोन आयो । उनले फोनबाटै नयाँ बानेश्वरस्थित मिनभवनको सडक भत्किएको जानकारी गराए । सडक भत्किएको खबर पाएपछि पुगेको प्रहरीले निरीक्षण गर्दा सडकमा भ्वाङ देखिएको प्रहरी प्रभाग कोटेश्वरले जनायो । शुरुमा सानो देखिएको खाल्टो मर्मत गर्न खोज्दा झन ठूलो भएर करिब १५ फिट गहिरो खाल्डो भयो।
प्रतिनिधिसभा अगाडिकै सडक जहाँ राजनीतिज्ञको मात्र नभइ सर्वसाधारणको पनि दैनिक भीड हुने गर्छ । यस्तो व्यस्त सडक भत्किएर भ्वाङ परेको समाचारले प्रहरी समेत आश्चर्यमा परेको छ ।
काठमाडौं सडक डिभिजन कार्यालय मातहत भएको यो सडकको अवस्थाका बारेमा ट्राफिक प्रहरीले सडक विभागमा जानकारी गराएर मर्मत कार्य भइरहेको छ ।
१० बजेपछि डिभिजन सडकको टोली उक्त स्थल पुगेर खाल्डो परेको भागमा स्काभेटरको सहायताले खन्दा भ्वाङको आकार बढेको र मंगालका कारण भ्वाङ परेको तथ्य भेटिएको प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।
उनले यो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंकाल कारण भएको बताए । ढलले शुरूमा मंकाल फुटाएको र मंकालबाट ढल लिकेज भएपछि सडक भित्रको माटो गलाएर खाल्डो बनेको देवकोटाले जानकारी दिए ।
प्रतिनिधि सभा भवनबाट आएको ढलका कारण भ्वाङ परेको र भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको उनको भनाइ छ ।