ललितपुर। ललितपुर महानगरपालिकाको कार्यालय अगाडि लाग्दै आएको पार्किङ शुल्क हटाइएको छ। महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।
यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि आजबाट निःशुल्क पार्किङ सेवा सञ्चालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
पार्किङ शुल्क हटेसँगै यहाँ २२५ वटा मोटरसाइकल एकतर्फी रूपमा सेवाग्राही र अन्यले निः शुल्क पार्क गर्न पाउँछन्।
यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो। सार्वजनिक सडकमा जथाभावी सवारी शुल्क लिँदै आएको गुनासो बढेपछि महानगरले कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको छ।
निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोकचोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।