काठमाडौं। अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड कालोपत्रे उप्किनुको साथै सडकका विभिन्न स्थानमा खाल्टो परेर जीर्ण बनेको छ। सडक जीर्ण भएसँगै सवारीसाधन र यात्रुलाई आवागमनमा जोखिमसमेत बढेको छ।
राजमार्गको धुलिखेल प्रहरी चेक पोष्टनजिकै अविरल वर्षाका कारण सडकको छेउको भाग पहिरो गएर सडक साँघुरो भएको छ। यस्तै धुलिखेल–खावा सडकखण्डमा सडकको बीच भागमा खाल्टो परेर मोटरसाइकललगायतका साना सवारीसाधन चलाउन समस्या भएको छ।
करिब तीन वर्षअघि कालोपत्रे भएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा करिब दुई वर्षअघि कालोपत्रे उप्किनुको साथै विभिन्न स्थानमा खाल्टो बनेपछि सडक मर्मत गरिएकोमा पुनः सडक जीर्ण बन्न पुगेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले वर्षाका कारण धुलिखेल–खावा सडकखण्डका कतिपय स्थानमा कालोपत्रे उक्किनुको साथै सडकमा खाल्टो बनेको बताए। उनले पहिरो गएको स्थानमा तत्काल ग्याबिन जाली हाल्ने भन्दै सडक खाल्टो परेको धुलिखेल–खावा सडकखण्डमा ग्राबेल हालिए पनि वर्षाका कारण ग्राबेल बगाएको बताए।
“करिब २१ करोड रुपियाँ खर्च गरी दशैँपछिबाट धुलिखेलदेखि खावासम्म ११ मिटर चौडा कालोपत्रे गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ,” उनले थपे। उनले उक्त सडकखण्डलाई टिकाउ बनाउन बेसमा सिमेन्ट मिसाउनुको साथै दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल कालोपत्रे गरिने बताए। गोरखापत्रबाट