काठमाडौं। काठमाडौं महानगरपालिकाले ७ करोड २१ लाख खर्च गरेर दमकल खरिद गरेको छ। महानगरपालिकाले ७ करोड २१ लाख रुपैयाँ खर्चेर इन्डोनेसियामाबाट नयाँ दमकल ल्याएको हो ।
योसँगै अब महानगरपालिकामा दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे ।
दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थिजयो । इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोनेसियाबाटै दमकल पठाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
२७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने नयाँ दमकलमा रहेको महानगरले जनाएको छ ।
३ हजार लिटर पानी र ५ सय लिटर फोमको टयाङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।