काठमाडौं। बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ। उक्त पार्क ५० लाख लागतमा निर्माण हुने भएको हो।
सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्वनगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो।
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्यास गरेका हुन्।
१७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको सालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताए।
नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए।
विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताइएको छ। पार्क निर्माण भएपछि पर्यटकीय हिसाबले पनि लाभदायी हुने र त्यसको पहिलो लाभ स्थानीयले लिने विश्वास गरिएको छ।
गत जेठ २५ गतेको कार्यपालिका बैठकको निणर्यअनुसार चालु आर्थिक वर्षका लागि सालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ।