बाजुरा। बाजुरामा केही दिन अघि मात्र अस्थायी रुपले सुचारु भएको साँफे–मार्तडी लोकमार्ग बेमौसमि वर्षाका कारण पुनः अवरुद्ध भएपछि स्थानीयलाई आउजाउ गर्न समस्या परेको छ। साँफे मार्तडी लोकमार्ग अन्तरगत पर्ने बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको तलमाथि दुवैतिरबाट पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएपछि बाजुराका स्थानीयवासीले दैनिक उपभोग्यका सामग्री ढुवानी गर्दा निकै सास्ती खेप्नु परेको हो।
पैदल यात्रा नै गर्न नमिल्ने गरी पहिरोले बाटो अवरुद्ध भएपछि दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या भएको स्थानीयले बताएका छन्। स्थानीय तहले पनि सडक सुचारु गर्नका लागि केही विकल्प खोज्नुपर्ने हो, तर बाटो बन्द भएको हप्ता दिन वित्दा पनि हालसम्म कतैबाट पनि सडक सुचारु गर्ने पहल नभएको स्थानीयको भनाइ रहेको छ। उक्त लोकमार्गको तलमाथि दुवैतिरबाट पहिरो खसेपछि सडक फेरि सञ्चालन गर्न जेसीभी प्रयोग गर्नका लागि सम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
चट्टानसहितको पहिरोले लोकमार्ग अवरुद्ध भएपछि विभिन्न मालवाहक ट्रक तथा मोटरसाइकलहरू बेतालमाण्डौ, बल्देमै रोकिएको बुढीगङ्गा नगरपालिका –२ बल्देका स्थानीय व्यापारीले बताएका छन्। सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो आएका कारण अझै राजमार्ग खुल्न महिनौं लाग्न सक्ने अनुमान गरीएको छ।
असोज ३१ देखि कात्तिक ३ गतेसम्म लगातार बेमौसमी रुपमा परेको पानीले सडक तहसनहस पारेकोले यति बेला तुरुन्तै सडक सुचारु गर्न सकिने अवस्था छैन। सडक पहिरोमा परिणत भएको भएता पनि बाजुराका स्थानीय ज्यान जोखिममा राखेर दैनिक उपभोग्यका सामान ढुवानी गर्दै आएका छन्।