काठमाडौं। शुक्रबार काठमाडौंका पर्यटकीय स्थल वरपर सरसफाइ गरिएको छ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अगुवाईमा हनुमानढोका दरबार स्क्वायर क्षेत्रदेखि ठमेलसम्म सरसफाइ गरिएको हो।
सरसफाईका लागि क्लिन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित सरसफाई कार्यक्रम आयोजना गरिएको पर्यटन मन्त्रालयले जनाएको छ। कार्यक्रममा मन्त्री श्रेष्ठ स्वयं उपस्थित भएर झाडु लगाएका थिए। उनले पर्यटकीय क्षेत्र सफासुग्घर राख्न अभियान सुरु गरेको बताए।
हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर, असन, ठंहिटी चोक हुँदै ठमेलको नरसिंह चोक लगायतका स्थानहरूमा सरसफाइ गरिएको मन्त्रालयले जनाएको छ।
सम्पदा स्थललाई सफा एवं आकर्षक बनाउने उद्देश्यले सरसफाई अभियान सुरु गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले जानकारी दिए।
सरसफाई कार्यक्रममा पर्यटन मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव सुरेश अधिकारी सहित काठमाडौं महानगरपालिका, होटल संघ नेपाल (हान), नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा),ठमेल पर्यटन विकास परिषद, नेपाल प्रहरी ,पर्यटक प्रहरी लगायतका संस्थाहरूको सहभागिता थियो।