काठमाडौं। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मेघौली विमानस्थल स्तरोन्नती पर्यटकीय विकासका लागि महत्वपूर्ण रहेको बताएकी छन्।
शनिबार भरतपुर महानगरपालिकाले आयोजना गरेको मेघौली विमानस्थल स्तरोन्नती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख दाहालले यस विमानस्थलको स्तरोन्नती भएलगत्तै यहाँ पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताइन्। ‘यो विमानस्थल स्तरोन्नती गर्ने वित्तिकै चार्टर विमान र अन्य विमानहरु सहजै आउने छन्, यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान दिन्छ’–प्रमुख दाहालले भनिन्।
प्रमुख दाहालले चितवनका दुई विमानस्थल बागमती प्रदेशकै वैकल्पिक विमानस्थलको रुपमा रहने बताइन्। ‘बागमती प्रदेशमा संघीय राजधानी बाहेकका ठाउँमा विमानस्थल छैनन्, प्रदेश राजधानी हेटौंडामा पनि विमानस्थल छैन, यसलाई प्रदेशकै वैकल्पिक विमानस्थलको रुपमा विकास गर्न सकिन्छ’–प्रमुख दाहालले भनिन्।
उनले विमानस्थल स्तरोन्नतीका लागि ड्रोनबाट गरिएको ‘टोपोग्राफी सर्भे’को काम नै आजको दिनमा चितवनका लागि महत्वपूर्ण कामको सुरुवात भएको बताइन्। ‘चितवनको लागि आजको दिनमा ठूलो कामको सुरुवात भएको छ, केहीदिन भित्रै यसको समग्र लागत स्टिमेट तयार पारेर टेण्डर प्रक्रिया अघि बढाउन प्रतिवद्धता सहित कामको सुरुवात भएको हो’–दाहालले भनिन्।
उनले पछिल्लो समय चितवनमा हवाईयात्रुको चाप बढ्दै गइरहेको अवस्थामा भरतपुर र मेघौली दुवै विमानस्थल एकैपटक स्तरोन्नतीको प्रक्रियामा अघि बढेकाले धेरै खुशी महसुस भएको बताइन्।