चरीकोट। दोलखाको शैलुङ गाउँपालिका कार्यालय पुग्ने सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ। मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङ्गेसम्म पुग्ने सडक निर्माण कम्पनीले अलपत्र पार्दा मुडे हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावतमा स्थानीयले सास्ती बेहोर्नुपरेको छ।
सडकको दुरवस्थाका कारण कार्यालय आउजाउ गर्न समस्या भएको जनसचेतना सहकारीमा कार्यरत सन्तोष भुजेलले बताए। कतिपय स्थानमा हिलोले मोटरसाइकल धकेलेर यात्रा गर्नुपर्ने अवस्था छ कार्यालय पुग्दा आफूले लगाएको कपडा र जुत्ता हिलोले हेरिनसक्नु हुने गरेको उनले गुनासो गरे। सडक जीर्ण भएकाले शैलुङ क्षेत्रमा उत्पादित तरकारी बजार पु(याउनै समस्या भएको र ढुवानी लागत बढेकाले तरकारीको उचित मूल्य पाउन नसकेको किसानको भनाइ छ।
मुडे–देउराली सडकखण्डमा सवारीसाधन चल्न थालेको करिब २२ वर्ष पुगेको छ। मुडेदेखि ढुङ्गेसम्म १६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी भौतिक पूर्वाधार कार्यालय, सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपियाँमा महालक्ष्मी निर्माण, द कन्चनजङ्घा र शुभकामना जेभीसँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७६ साल असारमा सम्झौता गरेको थियो। तर, तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थपिएको थियो।
उता शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ निर्माण कम्पनीसँग पटक–पटक सम्पर्क गर्दा काम गर्छु भन्दै झुक्याउने गरेको बताए। केही दिनअगाडि निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा तत्कालै काम गर्ने बताएको छ, उनले भने। यसैबीच पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका कार्यालका प्रमुख राजु श्रेष्ठले कार्यालयले निर्माण कम्पनीलाई पत्राचार गरेको भन्दै कम्पनीले ग्राबेल र डन्डी झारिसकेकाले दशैँअगाडि ढलान सुरु हुने बताए। गोरखापत्रबाट