काठमाडौं। खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ। विद्युत् मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करिब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए। घाइते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भइसकेको फेमिली केयर अस्पतालले जनाएको छ।
हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए। मृतक राईको श्रीमती र चारजना सन्तान छन्।