म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएको छ । छोटो दूरीको सडक निर्माण भएपछि अन्नपूर्ण आधार शिविरको यात्रा अवधि पनि छोटिएको छ ।
सडक निर्माण भएसँगै आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा सहज भएको छ । चार दिनको यात्रा अब दुई दिनमा पूरा हुने भएको छ ।
अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको बताइएको छ । वि.सं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए ।
पर्यटन विभागले रु दुई करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।