चितवन। नेपाल नागरिक उड्डयन प्राधिकरणले चितवनमा रहेको मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउने भएको छ। प्राधिकरणले विमानस्थलको स्तरोन्नतिसहितको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ शुरू गरेको हो ।
शनिवार मेघौली पुगेरै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टोपोग्राफी सर्भेको प्रारम्भ गरेका छन्। अध्यक्ष दाहालले यो विमानस्थल अब छिट्टै स्तरोन्नति भइ हवाई सेवा सञ्चालनमा आउने बताए । सर्भे रिपोर्ट आएपछि नागरिक उड्डयन प्राधिकरणबाट छिट्टै टेण्डरको प्रक्रिया अघि बढाइने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेघौली विमानस्थल स्तरोन्नति गर्न महानगरले पहिल्यैदेखि पहल गर्दै आएको बताइन् । विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनको भनाइ छ । यसले स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने भन्दै उनले विमानस्थलको स्तरोन्नति र उडान सञ्चालन प्रक्रिया छिट्टै अघि बढाउन प्राधिकरणका महानिर्देशक अधिकारीसँग आग्रह गरिन् ।