काठमाडौं। गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य लामो समयदेखि अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका, पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखि अलपत्र परेको हो।
तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा निर्माण सम्झौता भएको थियो। निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीले पाएको छ।
यता सो निर्माण कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले भूगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताए। कालीगण्डकी नदीको बहाव बढ्ने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उनको भनाइ छ। पछिल्लो तोकिएको समयावधिसम्म काम सक्ने गरी आफूहरूले योजना बनाएको उनको दाबी छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीका सूचना अधिकारी वीरेन्दप्रकाश तेलीले कालीगण्डकी पुलको निर्माणमा ढिलाइ भएको बताए। तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्नुको कारण के हो त भन्ने प्रश्नमा उनले कालीगण्डकी नदीमा पानीको बहाव बढी हुने र एक वर्षमा करिब तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम सम्पन्न गर्न नसकिएको हो भने। कोभिडलगायतका समस्याले पनि निर्माणमा ढिलाइ भएको तेलीको भनाइ छ। सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअनुसार २०८० साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले सो समयसम्म कार्य सम्पन्न गर्न हरदम प्रयास गरिने कार्यालयले जनाएको छ। गोरखापत्रबाट