बाँके। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुलको शिलान्यास गरेका छन्। मन्त्री राईले सोमबार डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन्।
डुडुवा नदीको टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर र डुडुवा ४ मोल्हुपुरवा अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पुल निर्माण हुन लागेको छ।
डुडुवा १ मा आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले जनतालाई आवागमनमा सहजता प्रदान गर्न सरकारले सडक र पुलको निर्माणलाई प्राथमिकतामा राखेको बताए।
सानो समयमा पनि सरकारले देशका विभिन्न स्थानमा सयौँ पुल र सडकका योजनाहरू सुरु गरेको दाबी गर्दै उनले केही वर्षमा ती योजना पूरा हुँदा हजारौँ जनताले सुविधा पाउने बताए ।
उनले डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट पुल निर्माण गर्न टेण्डर आह्वान गरिसकेको जनाउँदै पुलसम्बन्धी सबै काम एकै कम्पनीले गर्ने बताए ।