काठमाडौं। नेपाल उद्योग परिसंघले ‘नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२’ को आयोजना गर्दैछ। परिसंघले आगामी भदौ २३ र २४ गते सोल्टी होटलमा दुई दिने शिखर सम्मेलनको आयोजना गर्न लागेकाे हो।
सम्मेलनमा नेपाल सरकार, निजी क्षेत्र, विदेशी विशिष्ट व्यक्तित्वहरु, लगानीकर्ताहरुसहित एक हजार भन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपालमा पूर्वाधार विकासका बाधाहरुको पहिचान गर्न जारी यसअघिका तीन वटा संस्करणलाई निरन्तरता दिनका लागि पुन: नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ को आयोजना गरेको परिसंघले जनाएको छ।
पूर्वाधार विकासका बाधा पहिचान गर्न, पूर्वाधार विकासका लागि सरकारले प्रतिज्ञा गरेका सुधारलाई उत्प्रेरित गर्न, कनेक्टिभिटी र साझा वृद्धिको लागि पूर्वाधारका क्षेत्रमा बलियो सञ्जाल र गठबन्धन निर्माण गर्न, नेपालको मुख्य आवश्यकताका क्षेत्रमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्न र हरित वातावरण प्रदान, जलवायु प्रतिरोधी पूर्वाधार परियोजनाहरूमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्ने यस शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको परिसंघले जनाएको छ।
शिखर सम्मेलनको २०१४ मा आयोजित पहिलो संस्करणको नारा ‘पूर्वाधारमा द्रुतगति लगानी’ थियो भने २०१७ मा आयोजित दोस्रो संस्करणमा ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ भन्ने नारा राखिएको थियो। सम्मेलनको तेस्रो संस्करण २०१९ मा ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ भनिएको थियो भने अहिलेको चौंथो शिखर सम्मेलनको नारा ‘विकासका लागि पूर्वाधार’ रहेको छ।