काठमाडौं। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडानको अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो।
जजिराले यही भदौ ३१ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन एक उडान गर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ। हाल जजिराको एयरबस ३२० निओले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गर्दै आएको छ। कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत हाल कार्गोसमेत पठाउन थालिएको छ।