काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा करिब १८ किलोमिटर सडक कालोपत्रे भएको छ। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक तथा सडकपुल कार्यक्रमअन्तर्गत उक्त सडक कालोपत्रे भएको हो।
कार्यालयका अनुसार गत आवमा जिल्लामा प्रादेशिक सडक तथा सडकपुल आयोजनातर्फका २३३ वटा योजनामा ४४ योजनाको काम सम्पन्न भएको छ। गत आवमा १७ दशमलव ५४ किलोमिटर सडक कालोपत्रे, २४ दशमलव ६९ किलोमिटर कच्ची सडकको नयाँ ट्र्याक निर्माण र मर्मतसम्भार÷संरचना निर्माणका ४० किलोमिटर सडक पूरा गर्ने लक्ष्य लिएकोमा ३० किलोमिटर सडक मर्मतसम्भार/संरचना निर्माण भएको थियो। यस्तै जिल्लाका विभिन्न स्थानमा ग्राभेल (खण्डास्मिथ) सडकअन्र्तगत ५० किलोमिटर सडकमा सब बेस स्तरको स्तरोन्नति गर्ने लक्ष्य लिइएकोमा २५ दशमलव ४५ किलोमिटर र २० किलोमिटर सडक नियमित मर्मतसम्भार।संरचना निर्माण गर्ने लक्ष्य लिएकोमा १५ किमि मात्रै काम सम्पन्न भएको थियो।
यसैगरी गत आवमा पाँच किलोमिटर सडक ढलान गर्ने लक्ष्य लिएकोमा ७ दशमलव १९ किलोमिटर सडक ढलान भएको छ। २१ वटा सडक पुलको काम सुरु गरे पनि कुनै पनि योजनाको काम सम्पन्न नभएको कार्यालयले जनाएको छ। प्रादेशिक सडक (सङ्घ ससर्त अनुदान)तर्फका तीनवटा सडक आयोजनाको काम सम्पन्न भएको छ। सङ्घीय ससर्त अनुदानबाट जिल्लामा दुई किलोमिटर कच्ची सडकको नयाँ ट्र्याक निर्माण, ३० किलोमिटर सडक मर्मतसम्भार।संरचना निर्माण र छवटा सडक पुलको लक्ष्य लिएकोमा एउटा सडक पुलको काम सम्पन्न भएको कार्यालयले जनाएको छ।
पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा प्रादेशिकतर्फ ३६९ योजना रहेकोमा ३४४ योजना सम्झौता भएकोमा २१६ योजनाको काम सम्पन्न र २५ वटा योजनाको विस्तृत परियोजना रिपोर्ट निर्माण नभएको तथा कार्यक्षेत्रमा विवाद भएको थियो। कार्यालयका अनुसार सङ्घीय ससर्त अनुदानतर्फका १४ योजनामा १३ योजना सम्झौता भएकोमा छवटा योजना सम्पन्न र एउटा कार्यक्षेत्र उपयुक्त नभएका कारण सम्झौता हुन सकेन। कार्यालयमा प्रादेशिक र सङ्घीय ससर्त अनुदानतर्फका गरी ३८३ योजनामा ३५७ योजना सम्झौता भएकोमा २२२ वटा योजना सम्पन्न भएको र २६ वटा योजनाको काम नपाएको पाइएको छ।