म्याग्दी। अविरल वर्षासँगै आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार देखि निरन्तरको वर्षासँगै आएको पहिरोको कारण बेनी–जोमसोम–कोरला सडक अन्तरगतको बैशरीमा पहिरोले सडक अवरुद्ध भएको छ ।
त्यस्तै खोलामा बाढीको बहाव उच्च भएको कारण बेगखोलामा पनि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताए । प्रहरी निरीक्षक ढकालका अनुसार रघुगंगा गाउँपालिका–२ बैशरी एवम् रघुगंगा गाउँपालिका–१, बेगखोलामा सडक अवरुद्ध छ ।
त्यस्तै बेनी–दरवाङ–जलजला सडक खण्ड अन्तरगतको बाङ्गे पहिरोमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध भएको सडक खुलाउनका लागि प्रयास भएको भए पनि वर्षा नरोकिएको कारण केही कठिनाइ भएको भए पनि खुलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक ढकालले बताए ।
बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक खुलाउनका लागि डोजरसहित त्यसतर्फ लागेको बताए । शेरचनले पहिरो झरेको स्थान पुगेपछि मात्रै सडक खुलाउन कति समय लाग्छ भन्न सकिने बताए।