काठमाण्डौं। वर्षौंदेखि जीर्ण रहेको राजविराज–सिरहा सडक खण्ड पुनःनिर्माणको माग गर्दै स्थानीय युवाले सडक अवरोध गर्दै प्रदर्शन गरेका छन्। राजविराजको दशन चोकमा बाँसको लाठी लगाएर उनीहरुले सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका हुन्। दशन चोकदेखि पश्चिम जोड्ने सखडा रोडसम्मको सडकको निर्माणको माग गर्दै राजविराज नगरपालिका–६ र ७ का युवाले बाटो अवरोध गरी प्रदर्शन गरेको स्थानीय युवा खेलानन्द दासले बताए।
वर्षौंदेखि जीर्ण रहेको उक्त सडकमा वर्षाका पानीले गर्दा हिलाम्य भई सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुने गरेकाले अविलम्ब बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग छ। सडक निर्माणसँगै दशन चोकदेखि पश्चिम सिरहा सडकको वरिपरी रहेका अतिक्रमसमेत हटाउन युवाले माग गरेका छन्।
कार्यवाहक नगरप्रमुख इसरत प्रविण दशन चोकदेखि सिरहा सडकखण्ड निर्माण कार्य चाँडै सञ्चालन गर्न पहल गर्न प्रतिबद्धता जनाएपछि स्थानीय युवाले अवरोध हटाइएको थियो। राजविराजको दशन चोकमा बाँसको लाठी लगाएर करिब दुई।तीन घण्टा सडक अवरुद्ध पारिएको थियो। सो क्रममा सडकको दुवैपट्टि अतिक्रमण गरिराखेको संरचना हटाउन युवाले आग्रह गरेका थिए।