पाँचथर । फिदिम नगरपालिका र कुम्मायक पालिका जोड्ने तमोर करिडोर सडकअन्तर्गत सिवादोभानको मोटरेबल पुल बाढीले बगाएको छ । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षापछिको बाढीले पुलको एकातिरको भाग बगाएको हो ।
बाढीका कारण निभुखोला र सिवाखोलाले धार परिवर्तन गर्दा पुलको फिदिम नगरपालिकातिरको भाग बगाएको हो । बाढीले पुल बगाएपछि फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा सवारीसाधन आउजाउ बन्द भएको छ ।
पुलको एकातिरको भाग बग्दा कुम्मायक र तुम्बेवा पालिकाबासीलाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ । वर्षाले सडक समेत बिग्रिँदा उत्तरे–यासोक र यासोक–मूलघाट सडक पनि अवरुद्ध छ ।
यतिबेला तराईका जिल्ला जाने मानिस कुम्मायक र तुम्बेवाबासी सिवादोभानसम्म एउटा गाडीमा गएर पैदल खोला तरी पुनः अर्को गाडीमा चढेर जान बाध्य छन् ।
चाँडै पुल मर्मत गरी सवारीसाधन सञ्चालन गर्ने तयारी थालिएको कुम्मायक गाउँपालिकाका वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।
पुल बगाएको एक साता बितिसक्दा पनि पुल र सडक दुवै मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । पुल र सडक नहुँदा महत्वपूर्ण कामका लागि हिँडडुल गर्न र बिरामी पर्दा बिरामीलाई अस्पताल लिएर जान समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ ।