काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्दा आफूले गल्ती गरेको स्वीकार गरेका छन्।
प्रधानन्यायाधीस जबराले आइतबार प्रतिनिधि सभा अन्तरगतको महाअभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा आफ्नो गल्ती स्वीकार गरेका हुन्।
समितिका सदस्यहरूले ठेक्का सम्बन्धी सोधेको प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले रजिस्ट्रारले सदर गर्नुपर्ने सो फाइल आफूले सदर गरेर गल्ती गरेको बताए । सो क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताएको समितिका सदस्य समेत रहेका काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
समितिले जबरामाथि लगाइएको महाअभियोगको डकुमेन्टेसनको काम भने यही भाद्र २८ गतेदेखि सुरू गर्ने महाअभियोग सिफारिस समितिले जनाएको छ । समितिका सदस्य एवम् एमालेका सांसद कृष्णभक्त पोखरेलले उनीमाथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमेन्टहरूको व्यवस्थापन गर्ने काम २८ गतेबाट सुरू गर्ने योजना तय गरिएको बताए ।