काठमाडौँ । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ । सोमबार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्याउन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने भएका छन्
भ्रमणको दोस्रो दिन मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट गर्नुहुने कार्यसूचीमा उल्लेख छ । सोही दिन उनले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि छुट्टै भेट गर्नेछन् ।
बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । त्यस्तै अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
नेपालमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना तथा अन्य विकास साझेदारीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि नयाँ पहल र छलफलका विषय नेपाली पक्षसँग राख्ने जनाइएको छ ।