ओखलढुंगा। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा सम्झौता समय अघि नै अस्पतालको भवन निर्माण सम्पन्न भएको छ। जगदम्बा, काली, मेल्मिन जेभी कम्पनीले दुई वर्षमा सम्पन्न गर्नेगरी ठेक्का लिएको अस्पताल भवन १६ महिनामा पूरा गरी हस्तान्तरण गरेको हो।
२०७८ वैशाख ९ मा सुरु भएको अस्पताल भवन दुई वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो। ६ करोड २१ लाख रुपैयाँमा भवन निर्माण भएको छ। सरकारले घोषणा गरेको ‘एक स्थानीय तहमा, एक अस्पताल’ को भवन धेरै स्थानीय तहमा अझै बन्न सुरु नै नभएको अवस्थामा चिशंखुगढीमा भने समयअघि नै निर्माण पूरा भएको हो।
निर्माण व्यवसायीले इमानदारीपूर्वक काम गर्दा सम्झौता समयभन्दा अघि भवन निर्माण सकिएको हो । सम्बद्ध व्यवसायीले काम छिटो सम्पन्न गरे पनि स्वास्थ्य मन्त्रालयले भवन निर्माणको रकम भने भुक्तानी गरेको छैन । हालसम्म २ करोड ५० लाख मात्र भुक्तानी गरेको छ । बाँकी रकम नपाउँदा निर्माण व्यवसायीले गाउँपालिकालाई नै ताकेता गर्दै आएको छ।
गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले भौतिक संरचनाको काम सकिएको र अब केही महिनाभित्रै एमबीबीएस डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउने जानकारी दिए।
सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मी दरबन्दी तोके पनि स्थानीय तहले नै तलब सुविधाको व्यवस्थापन गर्नुपर्ने भनेको छ । स्थानीय तहसँग आर्थिक स्रोतको गतिलो माध्यम नहुँदा व्यवस्थापनमा भने चुनौती देखिएको अध्यक्ष शर्माले बताए ।