काठमाडौं। पूर्वी नवलपरासीको गैंडाकोटका स्थानीयले चिनियाँ निर्माण व्यवसायीका विरुद्धमा प्रदर्शन गरेका छन्। महेन्द्र राजमार्ग निमार्णमा चिनियाँ निर्माण व्यवसायीले चरम लापरबाही गरेको भन्दै स्थानीयहरूले सोमबार गैंडाकोटको हर्कपुर चोकमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।
प्लेकार्डसहित स्थानीयहरूले निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारविरुद्ध नाराबाजी समेत गरेका छन् । स्थानीयले एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए ।
३ वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीले सडक निर्माणको काम नगरेर राजमार्गमा धरापै धराप बनाएर छाडेका कारण बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ छ।
गैंडाकोट नगरपालिका–१० का वडाअध्यक्ष देवीदत्त कँडेल र वडा नम्बर ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले सोमबारको आन्दोलनको आह्वान गरेका थिए ।
४ वर्षसम्म सडक निर्माण नहुँदा सडकमा बनाइएका खाल्डाहरूमा परेर मान्छेको ज्यानसमेत जाने गरेको भन्दै स्थानीयहरू आन्दोलित बनेको सुवेदीले बताए ।