सल्यान। सल्यान जिल्लाका मर्मत गर्नुपर्ने सडकहरुको काम तत्काल गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। जिल्लाको प्रमुख सडक राप्ती राजमार्ग र सहयाक सडकको निर्माण, मर्मत तथा अवरुद्ध सडक मर्मत गरी सुचारु गर्न जिल्ला प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको राप्ती राजमार्ग र वर्षाका कारण रोकिएका सहायक सडकहरूको काम तत्काल सुरु गर्न प्रशासनले भनेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको संयोजकत्वमा जिल्ला भित्र पर्ने सडकहरूको निर्माण, मर्मत पुनः निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भएको छलफलबाट जिल्लामा रोकिएका मुख्य सडकहरू र सहायक सडकहरूको काम तत्काल सुरु गर्न निर्देशन दिइएको थियो ।
विशेष गरी जिल्लाको मुख्य सडक राप्ती राजमार्ग, खलङ्गा, वावियाचौर, बालुवा संग्रही लगायतका अन्य सहायक सडकहरूमा रोकिएका काम असोज १ गते देखि नै सुरु गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार विकास कार्यालय सल्यान, र निर्माण व्यवसायीहरूलाई आग्रह गरिएको छ ।
चाडपर्व नजिकै आएकाले सडकहरूको निर्माण, मर्मत, तथा स्तर उन्नतिको काम छिटो छरितो र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । उनका अनुसार सल्यानका अधिकांश सडकहरूको काम अलपत्र अवस्थामा रहेकाले निमार्ण व्यवसायीले जिम्मेवार पूर्ण भएर काम गर्न आवश्यक छ ।