वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा सदर चिडियाखाना निर्माण हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्जमा चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए। एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा चिडियाखाना निर्माण गरिने वन मन्त्रालयले जनाएको छ।
चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल समिति गठन भइसकेको छ। समितिले आफ्नो प्रतिवेदन समेत मन्त्रालयमा पेश गरिसकेको छ।
वीरगञ्ज महानगरपालिकाको ग्रामीण भेगमा पर्ने सोलखपुर रामवनमा प्राकृतिक चिडियाखाना स्थापना गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै चिडियाखाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिवेदनमा उल्लेख छ।