विराटनगर। मोरङको विराटनगर र कटहरी गाउँपालिका जोड्ने सिंघिया खोलाको पुल जीर्ण बन्दा कटरीका उद्योगलाई ठुलो समस्या भएको छ। जीर्ण भएको पुलका कारण उद्योगका कच्चापदार्थ र उत्पादित सामग्री बोकेका भारका ट्रक आवतजावतमा जोखिम भएको भन्दै उद्योगीले पुल निर्माणका लागि पहल गरिदिन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा मंगलवार गएको टोलीले प्रमुख जिल्ला अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पुल निर्माणको पहल गरिदिन ज्ञापनपत्र बुझाएका छन्। अध्यक्ष मुन्दडाका अनुसार कुनै पनि निकायले पुल निर्माणको जिम्मा नलिएकाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो।
दैनिक हजारौं टन सामग्री लिएर जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै उनले दुर्घटना भइहाले कटहरी क्षेत्रमा रहेका उद्योग बन्द हुने र हजारौंले रोजगारी गुमाउनुपर्ने अवस्था आउने उनले बताएका छन्। मोरङको कटहरीमा ठूला साना गरी १५० उद्योग रहेका छन। ती उद्योगका कच्चापदार्थ र तयारी वस्तु बोकेका ५०० भन्दा बढी गाडी दैनिक सिंघिया पुल हुँदै आवजजावत गर्छन्। तर पुल पुरानो र जीर्ण बनेकाले जुनकुनै बेला भत्कने खतरा बढीरहेको छ।