गोरखा। जिल्लाको दरौंदी नदीमाथि बनेको बिना बाटोको पुल फेरि विवादमा आएको छ। यसअघि बाटो बिना खोलामाथि पुल बनाएको भनेर विवादमा आएको पुलको मुखबाट सडक खन्न लाग्दा फेरि विवादमा तानिएको हो।
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्र र सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर फाँट जोड्न दरौंदी नदीमाथि निर्माणाधीन यो पुल गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले बनाएको हो। ५० मिटर लामो यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ।
पुलको एकपट्टी भाग गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्रमा पर्ने राताढुंगा–गोलपोले सामुदायिक वन क्षेत्रमा पर्दछ। सडक नभएको ठाउँमा पुल बनाएको भनेर यो पुल विवादमा आएको थियो।
अहिले सामुदायिक वन र जिल्ला वन कार्यालय लगायतसँग अनुमति नलिई पुलको मुखमा सडक ट्याक बनाउन लाग्दा वन क्षेत्र मासेको भन्दै फेरि विवाद सिर्जना भएको हो।
अनुमति नलिई करिब २५ मिटर वन क्षेत्रमा डोजर लगाइएको पाइएको गोरखास्थित वन कार्यालयको भनाइ छ। बुधबार यस क्षेत्रमा वन कार्यालयले अनुगमनसमेत गरेको छ।
सामुदायिक वन उपभोक्ता समितिले पनि अनुमतिविना वन क्षेत्रमा डोजर नलगाउन भनेको छ।