म्याग्दी। बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ। बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा गएराति पहिरो खसेर सडक अवरुद्ध भएको हो।
बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताएको छ। स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ।