काठमाडौं। सुदूरपश्चिम प्रदेशमा रहेको महाकाली चार लेन पुलको काम अन्तिम चरणमा पुगेको छ। सो पुलको काम ८१ प्रतिशत सम्पन्न भएको हो।
महाकाली नगरपालिकाको सडक संजालसँग जोडिने यो पुल बहुअपेक्षित पुलको रूपमा लिइएको छ। निर्माण कम्पनीसँग २०७८ जेठमा सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि कोरोना महामारीका कारण ढिलाइ हुँदा सरकारले डेढ वर्ष ठेक्काको म्याद थपेको थियो। कोरोनाको त्रास कम भएपछि तीव्ररूपमा सुचारु भएको कामले अहिले पूर्णता पाएको छ। पुलमा हुने सबै ३४ पिल्लर र ३२ स्ल्याब निर्माण भइसकेको योजनाले जनाएको छ।
गतवर्ष महाकालीमा आएको बाढीका कारण निर्माणाधीन पुलका कतिपय संरचना बगाएको र पुलतर्फ जाने रोडसमेत भत्काएकाले सरकारले निर्माण कम्पनीसंँग पछिल्लो सम्झौता लागत तीन अर्ब २७ करोड ९३ लाख २४ हजारबाट बढाएर तीन अर्ब ६६ करोडमा पुर्याएको छ।
पुलको अरु संरचनामा पोखरी निर्माणकार्य मात्र बाँकी रहेको छ। पोखरी निर्माणकार्य प्रक्रियामा रहेकाले छिट्टै सम्पन्न गरी आगामी कात्तिकसम्म पूर्णरूपमा सम्पन्न हुने बताइएको छ।
पुल निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको निर्माणको डिजाइन बीचमा बदल्नु परेका कारण नक्सा भेरिएसन भने अझै नभएको योजनाले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ मा शिलान्यास गरेको पुल निर्माण कुमार सीएसईसी जेभी निर्माण कम्पनीले गर्दै आइरहेको छ।