लमजुङ। माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट(मेवा) क्षमताको दोर्दी ‘ए’ को निर्माण सम्पन्न भएको हो।
आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेको जानकारी दिंदै एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको आयोजनाले जनाएकाे छ।
नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाँका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण शुरु गर्ने आयोजनाले बताएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ ।
आयोजना ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख पुग्ने भएकाे छ ।
उक्त आयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन। सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आइएको थियो ।