काठमाडौँ। काठमाडौं महानगरपालिकाले सोमबार एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ। ‘एक वडा एक पार्क निर्माण’ को नीतिअनुरूप करिब ४ रोपनी ११ आना जग्गामा निर्माण हुन लागेको ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्।
उनले महानगर क्षेत्रभित्र साना ठूला गरी ५० बढी पार्क निर्माण कार्य जारी रहेको जानकारी दिए। ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयबासीको अपनत्व रहने गरी स्थानीयलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौं।’