काठमाडौं । काठमाडौंको दरबार क्षेत्रमा अवस्थित काष्ठमण्डपको पुन:निर्माणको काम लगभग सकिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको काष्ठमण्डपको पुन:निर्माणको कामले केही समयमा नै पूर्णता पाउने भएको हो ।
काष्ठमण्डप पुन:निर्माण समितिका अनुसार यसको पुन:निर्माणको काम तिहार अघि नै सम्पन्न हुने छ । काष्ठमण्डप पुन:निर्माणमा १९ करोड ८८ लाख लाग्ने पूर्वअनुमान गरिएपनि हालसम्म काठमाडौं महानगरपालिकाबाट साढे ११ करोड रकम प्राप्त भएको समितिले जनाएको छ ।
१४ सय वर्ष पुरानो सम्पदाको रुपमा रहेको काष्ठमण्डपलाई १० औं र ११ औं शताब्दीमा निर्माण भएको भन्ने गरिएको थियो । तर भूकम्प पश्चात् पुरातत्व विभागसँगको सहकार्यमा भएको उत्खनन् एवम् अध्ययनबाट काष्ठमण्डप सातौं शताब्दीमा निर्माण भएको प्रमाणित गरिएको काष्ठमण्डप पुन:निर्माण समितिले जनाएको छ।
किम्वदंती अनुसार पहिला एउटा मात्रै रुखको काठबाट काष्ठमण्डपको निर्माण भएको थियो । तर अहिले चितवन, महोत्तरी, अमलेखगन्ज, टनकपुर, रौतहट गरी तराईक क्षेत्रका ६–७ वटा र पश्चिमका दुई जिल्लाहरुबाट काठ ल्याइएको बताइएको छ । काष्ठमण्ड पहिलाकै संरचना अनुसार उचाई ६४ फिट ४ इन्च र जमिन पनि त्यतिनै क्षेत्रफलमा पुननिर्माण भएको छ ।