काठमाडौं। बजेट अभावका कारण मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काममा ढिलाइ भएको छ। पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो।
अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन।
भण्डारण गृहको लागत नेपाल आयल निगमले बेहोर्नुपर्ने र इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधि सहयोगमा भण्डारगृह निर्माण हुनेछ । टेन्डर आह्वान गर्दा बैङ्क ग्यारेन्टी दिनुपर्ने रकम अभावका कारण काम अगाडि बढ्न नसकेको नेपाल आयल निगम अमलेखगञ्ज कार्यालयले जनाएको छ ।
भण्डारणगृह निर्माण गर्न सामान आइसके पनि काम सुरु हुन सकेको छैन । भण्डारणगृह निर्माण गर्न आईओसीलाई वर्क आदेशका लागि ११ करोड रुपियाँ बैङ्क ब्यालेन्स देखाउनुपर्छ। उक्त रकम देखाउन नसक्दा काम अघि बढ्न नसकेको हो।
अमलेखगञ्ज, थानकोट र पोखराका लागि अहिले दुई हजार ट्याङ्कर भारतको बरौनी गएर पेट्रोल ल्याउने गरेका छन्, ढुवानी भाडा प्रतिलिटरमा तीन रुपियाँ र ५० पैसा प्राविधिक नोक्सान हुने गरेको छ।