अछाम । सडक अवरुद्ध भएका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा औषधि अभाव हुन थालेको छ । बाढीपहिरोले अवरुद्ध बनेको सडक तत्काल मर्मत नहुँदा पहाडी जिल्लाहरुमा औषधि लगायतका अत्यावश्यक सामाग्रीको ढुवानी गर्न समस्या भएको हो ।
अछाम, बाजुरा, डोटी लगायतका जिल्लामा औषधि अभाव हुन थालेका छन् । पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या भएको छ ।
जिल्ला अस्पताल डोटीले सडक अवरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जनाएको छ । अस्पतालको फार्मेसीमा औषधि सकिएको र अबको एक–दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने बताएको छ ।
जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । ५० शैयाको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको बताइएको छ ।
कतिपय ठाउँमा सडक मर्मत कार्य शुरु भइसकेको छ भने कतिपय स्थानमा मर्मत कार्य समेत शुरु नहुँदा समस्या भयावह हुने देखिएको छ । अत्यावश्यक सामाग्री नै ढुवानी गर्न नसक्ने अवस्था भएपछि स्थानीय त्रसित बनेका छन् । अस्पतालहरुमा औषधी, पसलमा खाद्यन्न लगायतको अभाव हुन थालेपछि तत्काल सडक मर्मत हुनुपर्ने स्थानीयले माग राखेका छन् ।