काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार गर्न कात्तिक २५ गते ठेकेदार कम्पनी छनौट गरिने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकेदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको हो ।
सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो । नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई प्याकेजमा ४२ कम्पनीले प्रारम्भिक योग्यताका लागि प्रतिस्पर्धा गरेकोमा योग्यता पूरा गरेका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्न लागिएको हो । दुबै प्याकेजमा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी आर्थिक प्रस्तावमा पास हुनेछन् ।