काठमाडौं। हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास गरिएको हो।
राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो। विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा जाने सम्पदा पदमार्ग पुनः स्थापनाको घोषणा गर्न आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले मन्दिर पुनः निर्माणको शिलान्यास गरेका हुन्।
यो पदमार्गमा एक सय ४० सम्पदा पर्ने जनाइएको छ। त्यसमध्ये भूकम्पले क्षति गरेका २२ वटा सम्पदाको पुनःनिर्माण गर्नुपर्नेछ। सम्पदा पुनःनिर्माणका लागि सहरी विकास मन्त्रालयले काम सुरु गरिसकेको कार्यक्रममा मन्त्री श्रेष्ठले जानकारी दिए।
विष्णुमती नदीमाथिको सम्पदा मार्गमा मान्छे हिँड्ने पुल पनि बनाइने उनले सुनाए।
सम्पदा क्षेत्रमा राखिने पसल पनि पुरातात्विक एवं मौलिक शैलीको राखेर पर्यटकलाई आकर्षित गर्ने नीति मन्त्रालयले लिएको छ। पर्यटक आकर्षित गर्न भ्रमण दशक घोषणा भइसकेकाले हनुमानढोका दरबार क्षेत्रस्थित काठमाडौं महानगरपालिका१९ का पिछडिएका सम्पदाको विकासमा पनि काम हुने प्रतिबद्धता मन्त्री श्रेष्ठको छ।