काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताए।
महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उनले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताएका छन्। विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ, दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्ने उनले बताए।
बन्द रहेको विमानस्थल सञ्चालन गर्नका लागि ५३ करोड भन्दा माथीको बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बोलपत्र आह्वान टेण्डरको कार्य पूरा भएको पनि जानकारी दिए। बोलपत्र आह्वान भइसकेको छ, रकाठमाडौँ फर्केलगत्तै सम्झौतागर्ने काम सुरु हुन्छ। उनले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत काम अघि बढाइएको बताए।
बजेटका कारण विमानस्थलसम्बन्धी कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले बजेट चाँडै स्वीकृत भएपछि कार्य सुरु हुने बताए। आरक्ष पीडितको समस्या समाधानका लागि कार्य अगाडि बढाइने मन्त्री आलेमगरको भनाइ थियो।