बझाङ। बझाङ मा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। लगातारको वर्षासँगै आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन्। सवारीसाधन चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्यासको अभाव देखिएको हो।
सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको ग्याससँगै दैनिक उपभोग्य सामग्रीलगायत तरकारीको पनि अभाव भएको छ। दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
सदरमुकाम चैनपुरमा होटल सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार ग्यास सकिएको दुई दिन भइसक्यो। बजारमा पनि ग्यास उपलब्ध छैन। गाडी चलेकाले पहिले वास्ता गरिएन। उनले ग्यास नभएर घरमा पनि खाना पकाउन समस्या भएको बताए।
जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाले जिल्लामा ग्यास अभाव भएको र दाउरा बेच्नेहरू पनि नआउने भएकाले होटल व्यवसायीले होटल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको ग्यास डिलर गोविन्द खड्काले बताए।
उक्त राजमार्ग अवरुद्ध भएको हप्तौं भइसक्दा पनि सडक खुल्न सकेको छैन। सडकको यस्तै अवस्था रहे केही दिनमा खाद्यान्नको समेत अभाव हुने देखिएको छ।