सुर्खेत उपत्यका नगर विकास समितिले सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा त्यहाँको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाउदैछ । आर्थिक वर्ष २०७६/०७७ देखि वन निर्देशनालयले बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको छ । सुर्खेतका इञ्जिनीयर गोकर्ण थापाको अनुसार १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको हो ।
यस वर्ष बुलबुले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा वनभोज स्थलतर्फ पुग्न झोलुङ्गे पुल निर्माण गरिनेछ भने पैदलमार्ग, ताल विस्तार र तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको छ । विस्तार गरिएको तालमा पानी लिकेज भएको कारणले गर्दा ताल पूर्णरुपमा भरिन पाएको छैन । त्यसैले यस वर्ष पानीको लिकेज बन्द गर्नुका साथै स्राद्द घर तथा १० वटा वनभोजस्थल निर्माण गरि, उद्यानलाई व्यवस्थित बनाइने कुरा इञ्जिनीयर थापाले जानकारी दिनुभयो ।
साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा पर्ने साथै बिदाको दिनमा पर्यटकको भिड पनि बढ्ने हुदा दैनिक ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने गर्दछन। बुलबुलेको संरक्षण सरकारी तवरबाट विसं २०२९ देखिनै हुन थालेको हो । यस क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै वीरेन्द्रनगर नगरपालिका र सङ्घीय सरकारको पनि साझेदारी रहेको छ । बुलबुले सुर्खेतको मुख्य चिनारी भयकोले यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाइदै छ ।
यो ताल जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएको हो । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच/पाँचवटा धारा छन् । नगरपालिकोले यसको विस्तार सम्पन्न भइसकेपछि र्याफ्टिङ सञ्चालन गर्ने तयारी गरेको छ ।