काठमाडौं। नेपालमा पहिलोपटक ग्रीन हाइड्रोजन सम्मेलन हुने भएको छ। आयोजक ग्लोबल एनआरएन फाउन्डेसन र एमआईटी ग्रुप फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज २४ र २५ गते सम्मेलन आयोजना हुने जानकारी दिएको हो।
ग्लोबल एनआरएन फाउन्डेसन, एमआईटी ग्रुप फाउन्डेसन, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने भएको हो। सम्मेलनमा प्रविधि, लगानी र नीति तथा बजारीकरणको बारेमा छलफल हुने छ।
‘नेपाल हरित हाइड्रोजन सम्मेलन पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ भन्ने नाराका साथ सम्मेलनको आयोजना हुने भएको छ। आयोजकले नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न विषयमा बहस र विश्लेषण हुने जनाएको छ।
सम्मेलनमा नेपालका उद्योगी, विभिन्न मन्त्रालय तथा सरकारी प्रतिनिधि, विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र ग्रीन हाइड्रोजन प्रविधिको क्षेत्रमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता हुनेछ।