झापा । एक वर्ष अघि रोकिएको नागरडुब्बा खोलामा निर्माणाधीन पुल पुनः योजनामा परेको छ । रेलवे भित्र पर्ने भन्दै नगरपालिकाले पुल निर्माण कार्य रोकेको एक वर्षपछि पुनः योजनामा परेको हो ।
बन्दाबन्दैको पुलको निर्माण एक वर्षअघि रोकिएपछि स्थानीय आक्रोशित भएका थिए । पिलर बनिसकेको पुलको माथिल्लो भाग ढलानको काम मात्रै बाँकी रहँदा निर्माण कम्पनीलाई नगरपालिकाले काम तत्काल रोक्न निर्देशन दिएको थियो । पुल रेलवेको २५ मिटरभित्र पर्ने भन्दै नगरपालिकाले पुलको काम रोकेको थियो ।
रेलवेमा परेर नगरले निर्माण योजनाबाटै हटाएको पुलका लागि यतिबेला प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले संघीय सरकारसँग पुनः बजेट माग गरेका छन् । उनले पुल पुनः योजनामा परिसकेको जानकारी समेत दिएका छन् । रेलवे बन्ने भए पुल तलमाथि कतै सारिने उनको भनाइ छ ।