काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण चाँडै सक्न दिर्नेशन दिएका छन्।
बिहीवार भैँसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले मन्त्री निवासको काम रात दिन गर्न निर्देशन दिएका हुन्।
उनले भने, “वर्किङ आवर अब २४ घण्टा नै बनाउनुपर्छ । एउटै श्रमिकले २४ घण्टा गर्ने होइन । तर, मिलाएर काम गर्न थाल्यौँ भने, यहाँ गर्ने काम हामीले रात, दिन गर्ने गरिकन पनि समयमा सक्ने । त्यो बाहेक अर्को विकल्प हुँदैन।”
निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उनले भविष्यमा कुनै आयोजनाहरू गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले भैँसेपाटीको सडक जीर्ण अवस्थामा रहेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे ।
अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरूलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे ।