काठमाडौं। झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक सञ्चालनमा आएको छ। सो सडक एक वर्ष पछि सञ्चालनमा आएको हो।
गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पुर्याएको थियो। मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो। सडक कटान भएपछि त्यस सडकखण्ड पूर्णरुपमा आवतजावत बन्द छ।
अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको हो। सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ।
सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मतसम्भारको काममा सहयोग पुर्याएका थिए। सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीयले बताएका छन्।