काठमाडौं। बानेश्वरको मुख्य सडकमा परेको खाल्डो पुर्न अझै एकहप्ता लाग्ने भएको छ। भित्रभित्रै भत्किएर बनेको खाल्डो अवलोकनका लागि उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य त्यँस क्षेत्रमा पुगेका थिए।
उनले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताए। प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको सुनाए। उनले सवारीसाधहरुको चाप धेरै हुने मुख्य सडक भएकोले तत्काल समस्याको समाधान गर्नुपर्ने भएता पनि पूर्ण मर्मत भइसक्न अझै एक हप्ता लाग्ने जानकारी दिए।
सडक भासिएको सत्य हो रहेछ। प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, हामीले तत्काल मंगालको काम शुरु गरेका छौँ, पहिले बनाइएको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले यसरी सडकमा खाल्डो परेको हो। भित्र आरसिसी नै गरिरहेका छौँ, अब फेरि यस्तो प्रकारको समस्या नआओस् भन्ने उद्धेश्यका साथ ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने शाक्यले बताए। ढलानको काम गर्दा नियमानुसार नगरी आ-आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए।