त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ।
नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चारपाङ्ग्रे सवारीसाधन आवतजावत गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन आग्रह गरिएको छ।
‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो। उक्त स्थानमा करिब ५०० मिटरमाथिबाट खसेको सुक्खा पहिराले २०० मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ।
सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन्। ठूलो भिरमा माथिबाट थप ढुंगासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयले जनाएको छ।
पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ।