काठमाडौं। गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो।
नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्।
दुवाचौरका व्यापारीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे। यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो। चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएको नगरपालिकाले जनाएको छ।
ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ। मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौँ समय लाग्ने गर्दा सास्ती भएको थियो।